काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीको मोवाइल वालेट ‘नमस्ते पे’ आजबाट सुरु हुने भएको छ । समयसीमा भन्दा करिव ८ महिना पछि ‘नमस्ते पे’ नामक मोबाइल वालेट सुचारु हुन् लागेको हो ।
‘नमस्ते पे’ले विभिन्न पत्रिकामा विज्ञापन गरेर आजबाट वालेट संचालन भएको जानकारी गराएको छ । कम्पनीले यसअघि मोटिभेट न्यूजसँग भदै २२ गतेदेखि संचालन गर्ने जनाएको थियो ।
‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भक्तानी सेवाको प्रारम्भिक चरणको व्यावसायिक सञ्चालन आज २९ भाद्र २०७८ बाट शुभारम्भ हुन लागेको उपलक्ष्यमा कम्पनीको व्यावसायिक सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा जारी गरेको सूचनामा भनिएको छ ।
यो मोबाइल वालेट नेपालको सबैभन्दा ठूलो वालेट कम्पनी हो । नेपाल टेलिकमको सहायक कम्पनीका रूपमा स्थापना भएको नेपाल डिजिटल पेमेन्ट कम्पनीले २०७७ सालको माघमा ‘नमस्ते पे’ बाट कारोबार सुरु गर्ने लक्ष्य लिएको थियो । उक्त लक्ष्य अनुसार काम गर्नका लागि नेपाल टेलिकमले कम्पनीका सह–प्रबक्ता कृष्णप्रसाद भण्डारीलाई कार्यकारी प्रमुख (सिइओ)का रूपमा जिम्मेवारी दिएको थियो ।
नेपाल टेलिकममा आबद्ध विभिन्न कर्मचारी सङ्गठनहरूले ‘नमस्ते पे’ छिटो सुरु गर्न दवाव दिइका थिए । कम्पनी भित्र संस्थागत सुशासन हुनुपर्ने मागभित्र ‘नमस्ते पे’ सञ्चालनमा किन ढिलाइ भयो भन्ने विषय पनि परेको नेपाल टेलिकम वकर्स युनियनका महासचिव महेश्वर खड्काले बताएका थिए ।
नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेड (नमस्ते पे) कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७७ साल साउन १३ गते दर्ता भएको थियो । कम्पनीका दर्ता भएपछि नेपाल राष्ट्र बैङ्कले मोबाइल वालेट सञ्चालनका लागि स्वकृति दिएको थियो ।
कम्पनीको अधिकृत पुँजी ४० करोड रहेको छ । यसमा नेपाल टेलिकमको ५१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ३९ प्रतिशत र कर्मचारी तथा सर्वसाधारणको १० प्रतिशत शेयर हिस्सा रहेको छ ।
अहिलेसम्म नेपाल टेलिकमले मात्र २५ करोड रुपैयाँ लगानी गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले कति लगानी गरेको छ भनेर खुलाइएको छैन
यो बालेटबाट इन्टरनेटबीना मोवाइल रिचार्ज, बिल भुक्तानी, हवाइ टिकट लगायताका सुविधाहरु रहेको छ ।