नेकपा एमालेले १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुपर्ने र नटाँसे मार्ग प्रशस्त गर्नु पर्ने अडान दोहोर्याउदै सभामुखले बोलाएको बैठकमा नजाने निर्णय गरेको छ ।
एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।
एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।
प्रमुख सचेतक भट्टराईले भने माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कन्छ र ?’ उनले सभामुखलाई भनेका छन् ।
सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामुखलाई सूचना दिएका थिए ।
२ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामुखले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए । यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुख समेत प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । त्यसलाई लिएर एमालेले २३ भदौमा शुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।