शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सामान्य सबारी साधनको लाइसेन्स समयमा दिन नसक्ने सकार बाट अरू के आस गर्नु ?

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै


  • शुक्रबार, भाद्र २५ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेपालमा ड्राइभिङ लाइसेन्सको वितरण प्रणाली भताभुङ्ग भएको छ । यसको एक मात्र कारण सरकारी अकर्मण्यता हो भन्ने कुरा प्रस्टै हुन्छ ।

कुरो सामान्य छ सवारी साधन चलाउने अनुमति पात्र दिन तर नेपाल सरकार अन्तरगतको यातायात व्यवस्था विभागले न समयमा लाइसेन्स परीक्षा लिन्छ न  लाईसेन्सनै समयमा दिन सक्छ । अब त हुँदा हुँदा ३ लाखले परीक्षा कुरेका कुरै छन् भने ६ लाख भन्दा बढीले लाइसेन्स हात पारेका छैनन् । यो भन्दा नालायकी पन के हुन्छ ? भन्ने प्रश्न आम सर्वसाधारणले उठाउँदा पनि काम समयमा पटक्कै हुँदैन ।

कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा छन् भने लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु पनि अन्योलमा छन् ।

यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि खुलाउने निर्णय गरेको छ । तर, काठमाडौं बाहेकका क्षेत्रका अधिकांश लाइसेन्स कार्यालयले अझै परीक्षा खुलाइसकेका छैनन् । विभागका अनुसार अहिले परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ३ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेका छन् ।

लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् । नियमित शैलीमा परीक्षा लिइरहेका छन् भने कतिपय कार्यालय परीक्षा फेरि सुरु गर्ने गृहकार्यमा छन् ।

काठमाडौंका चारवटै लाइसेन्स कार्यालयले परीक्षा लिन सुरु गरिसकेको यातायात व्यवस्था विभागमा महानिर्देशक नवराज घिमिरे बताउँछन् । ‘हेटौंडा कार्यालयले पनि सुरु गर्दैछ,’ उनी भन्छन्, ‘अरुले पनि परीक्षा सुरु गर्न मिति घोषणा गर्दैछन् ।’

उनले भनेअनुसार नै सबै कार्यालयले तत्कालै परीक्षा लिन सुरु गरेपनि आवेदन दिएका साढे ४ लाख जनाले कहिलेसम्म परीक्षा दिइसक्छन् भन्ने निश्चित छैन । यसले गर्दा लाइसेन्सको परीक्षाका लागि आवेदन दिन चाहनेहरु पनि मारमा पर्नेछन् । सम्बन्धित लाइसेन्स कार्यालयहरु हाल आवेदन दिएकाहरुले परीक्षा दिएपछि मात्रै नयाँ आवेदन लिने पक्षमा छन् ।

२०७६ चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो । कोभिड–१९ बाट सुरक्षित हुँदै २०७७ असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो ।

समस्या लाइसेन्सको आवेदन तथा परीक्षामा मात्रै छैन, परीक्षा पास भएर बसेकाहरुलाई लाइसेन्स छापेर दिने पक्षमा पनि उस्तै छ । यातायात व्यवस्था विभागमा अहिले लाइसेन्स परीक्षा पास गरेर र नवीकरणको प्रक्रिया पूरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेकाको संख्या ५ लाख ९२ हजार छ ।

तर, बिडम्बना के छ भने गत फागुनदेखि विभागमा नयाँ लाइसेन्सको छपाइ बन्द छ । विदेश जान अत्यावश्यक परेर पुग्नेबाहेक अरुको लाइसेन्स छाप्न छोडिएको छ । विभागमा स्मार्ट लाइसेन्स छाप्ने कार्डको मौज्दात नै छैन ।

स्मार्ट लाइसेन्स चिप्सयुक्त पोलिकार्बोनेट कार्डमा छपाइ हुन्छ । तर, सो कार्डको आपूर्तिमा विभागले ढिलाइ र लापरबाही गर्दा लाइसेन्सको परीक्षा नभएको समयमा समेत लाइसेन्स छाप्ने काम हुन सकेन ।

जाबो लाइसेन्स समयमा उपलब्ध गराउन नसक्ने सरकारबाट अरू के आस गर्न सकिन्छ भन्ने गुनासो आम सर्वसाधारण को रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा