शनिबार, साउन ३० २०८३
ताजा अपडेट

देउवाले गराए छोरा जयवीरसिंहलाई सक्रिय राजनीतिमा इन्ट्री


  • बिहिबार, भाद्र २४ २०७८
10.2K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा उतारेका छन् । जयवीरले यसपालि कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन्।

गृहजिल्ला डडेल्धुराबाट जयवीरले क्रियाशील सदस्यता लिएका हुन्। डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र ‘ख’ मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीर पनि क्रियाशील सदस्य छन्।

उक्त वडाको नयाँ क्रियाशील सूचीको १६६ नम्बरमा जयवीरको नाम छ। कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीर पनि क्रियाशील सदस्य रहेको बताए।

‘उहाँको नाम यसपालि क्रियाशील सदस्यको सूचीमा आएको छ,’ उनले भने, ‘क्रियाशील सदस्यताका लागि उहाँको नाम वडाबाटै सिफारिस भएर गएको थियो।’

कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा जयवीर सिंह देउवाको नाम छ। उनकाअनुसार जयवीर गाउँ भने आएका छैनन्। भदौ १८ मा अधिवेशन गर्ने भने पनि २५ गतेका लागि सारिएको भट्टले बताए।

‘भदौ २५ मा वडा अधिवेशन गर्ने भनेका छन्,’ उनले भने, ‘जयवीरलाई पनि क्षेत्रीय प्रतिनिधि पठाउनेबारे छलफल भइरहेको छ।’ वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जयवीर यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ।

कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ। ‘सभापतिज्यूको पनि यहीँबाटै नाम छ। उहाँका छोरा जयवीर पनि यसैपालि क्रियाशील हुनुभयो,’ भट्टले भने।

सभापति देउवा भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि भइराख्नु पर्दैन। पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने गरी कांग्रेसले विधान बनाएको छ।

क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ। २६ वर्षीय जयवीरले यसअघि बेलायतमा पढिरहेका थिए। युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्।

कांग्रेसमा यसपालि ९ लाख क्रियाशील सदस्य छन् तीमध्ये तीन लाख हाराहारीमा युवाहरू समेटिएका छन्। डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जयवीर यसपालि क्रियाशील सदस्य भएको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा