काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।
गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
राति १ सय ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बताए । मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको एसपी राठौरले बताए । ‘अन्य ठाउँमा डुबानको समस्या हटेको छ’ एसपी राठौरले भने–‘मनोहरा खोला किनारामा उद्धार भइरहेको छ ।’
अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।
गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।