शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अवसरवाद न घरको न घाटको हुने निश्चित, शाक्य र आचार्य नेतृत्वमा रहेको दुवै प्रदेश सरकार अल्पमतमा !


  • बुधबार, भाद्र १६ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेकपा एमाले विभाजन भएर माधव कुमार नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी बनेर निर्वाचन आयोगमा दल दर्ता गराएको अवस्थामा आगामी २२ गते सम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दल रोज्ने समय सीमा छ ।  समय सीमा भन्दा अगाडिनै जनप्रतिनिधि हरू कुन पार्टीमा लग्ने भन्ने कुरा खुलिसकेको अवस्था छ ।

बगमति प्रदेशमा १२ जना सांसदले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । भने प्रदेश नम्बर एक मा १० जनाले एमाले छोडेर समाजवादी तिर लागेका छन् । यो सँगै हप्ता दिन बित्न नपाउँदै दुवै प्रदेश सरकार अल्पमतमा परेका छन् । दुवै प्रदेशमा भएका मुख्यमन्त्री एमाले नफुट्दा माधव नेपालको खेमामा रहेका थिए । उनीहरू दुवै पार्टी अध्यक्ष ओलीका सबैभन्दा धेरै आलोचना गर्ने मध्यका मानिन्थे ।

दल विभाजन भए सँगै बागमती प्रदेशमा ओलीले अष्टलक्ष्मी शाक्यलाई रातारात मुख्यमन्त्री बनाइदिए । ओलीको सबैभन्दा धेरै आलोचना गर्ने शाक्य एकाएक नरम भएर प्रस्तुत भएको देख्दा आम जनमानसमा पद पाएपछि माधव नेपाल लाई छोडेको आरोप लगाउँदै उनको नरमपनलाई अवसरवादको रूपमा चित्रण गर्न थालेका छन् । तर नेपाल पक्षमा १२ सांसद खुलेपछि शाक्य अल्पमतमा परेकी छिन । एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।
उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।

प्रदेश १ सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ। जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन्। तीमध्ये एक जना सांसद  गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन्। उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए। यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको छ। यो संख्यामा  एक जना सभामुख पनि छन्। बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ। प्रदेशसभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन्। यी तीन दलसँग जम्मा ३९ जना सांसद छन्। त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना पुगेको छ। यो संख्या सरकार ढाल्न र नयाँ बनाउन पुग्दो बहुमत हो।

गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेको साथ पनि पाउने जनाएको छ। उनी थपिँदा विपक्षी गठबन्धनमा कूल संख्या ५० हुनेछ।

समग्रमा बागमती प्रदेश र प्रदेश नम्बर १ मा शाक्य र आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको अवस्था छ । माधव नेपाल पक्षका एक नेताका अनुसार दुवै मुख्यमन्त्री एमालेमा सँगै हुँदा माधब नेपाल पक्षका मानिन्थे र ओलीका कडा आलोचकका रूपमा गनिन्थे एकाएक मुख्यमन्त्री बनेपछि ओली निकट भएका दुवै मुख्यमन्त्रीले माधव नेपाललाई धोका दिएको अवसरवादको परिणाम न घरको न घाटको हुने अवस्था देखा परेको बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा