शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अल्पमतमा पर्ने सम्भावना देखेपछि प्रदेश १ का मुख्यमन्त्री भन्छन् : मुख्यमन्त्री बन्ने पटक्कै इच्छा थिएन !


  • बुधबार, भाद्र १६ २०७८
9.8K
SHARES

फाइल तस्विर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका हुन् ।

‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले कार्यक्रममा भने ‘मैले पाँच वर्ष अघि इच्छा गरेको थिएँ । त्यसका लागि काम गर्ने निश्चित मिसन थियो ।’

पाँच वर्ष अघि प्रदेश १ को विकास र समृद्धिको गुरुयोजना र कानुनको मस्यौदा गरेर तयार रहे पनि काम गर्न नपाएको मुख्यमन्त्री आचार्यले बताए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैमा उनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएको थियो । तर प्रदेशसभा संसदीय दलको नेतामा उनी शेरधन राईसँग पराजित भएपछि मुख्यमन्त्री हुनबाट वञ्चित भएका थिए ।

मंगलबारको कार्यक्रममा मुख्यमन्त्री आचार्यले अहिले परिस्थिति अनुकुल नरहेको स्वीकार गरे । ‘धेरै चिजहरु बिग्रिएको छ । राजनीनिक परिस्थिति बिग्रिएको छ, दलहरुबीच कन्फ्लिक्ट छ,’ कार्यक्रममा उनले भने, ‘(प्रदेशको) नामाङ्कन भएको छैन, नामाङ्कन गर्न दुई तिहाई चाहिन्छ । तर अहिले एकले अर्कालाई सहयोग गर्ने वातावरण दलहरुमा छैन ।’

पार्टी विभाजनपछिको एमालेमा धेरै क्षति हुन नदिन मात्रै मुख्यमन्त्री बनेको आचार्यले बताए । नेकपा एमाले छाडेका एक सांसदका अनुसार आचार्यले नयाँ पार्टीमा जानबाट ८ सांसदलाई रोकेका छन् ।

माधवकुमार नेपाल नेकपा एमालेमा रहँदा प्रदेश १ मा उनको पक्षमा १८ सांसद थिए । अहिले राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनीता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा