काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनलाई ‘भ्यागुताको धार्नी’ भनेजस्तै भएको छ । दिनहुँजसो सत्ता गठबन्धनका नेताहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिन छलफल हुने गरे पनि उनीहरुबीच ठोस सहमति जुट्न ढिलाइ हुँदा ५० दिन बित्न लाग्दासमेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
सत्तासाझेदार प्रमुख दलहरु विचको विवाद लुकाउँन खोज्दा खोज्दै पनि छताछुल्ल भएर आएको छ । सत्ता साझेदार प्रमुख दल नेपाली काग्रेस , माओवादी केन्द्र , नेकपा एस र जसपाका विचमा भयंकर विवाद भएको छ ।
मन्त्रीपरिषद विस्तार गर्दा पाउँनु पर्ने भागमा कुरो नमिल्दा सत्तागठबन्धका दलहरु विच सम्बन्ध चिसीएको छ । सबैले धेरै सिट माग्ने र मालदार मन्त्रालयमै आँखा लगाए पछि भागबण्डानै गर्न कठिन हुने अवस्था आएको छ ।
मन्त्रिमण्डल विस्तार र मन्त्रालयबारे टुङ्गो लगाउन मङ्गलबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच करिब डेढ घण्टा छलफल भयो तर कुनै ठोस सहमति जुट्न सकेन ।
मङ्गलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । तर, उक्त छलफलमा पनि नेताहरु पुन बस्ने र टुङ्ग्याउने भन्दै बालुवाटारबाट छुट्टिएका छन् ।
जनता समाजवादीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले छलफलमा केही पनि प्रगति नभएको प्रतिक्रिया दिए । उनले भने, ‘समाचार हुने कुरा केही भएन । सामान्य छलफलमात्र भयो ।
उनले मन्त्रिमण्डल विस्तार गर्न के कुराले रोकेको हो ? भन्ने प्रश्नमा केही बताउन चाहेनन् । ‘प्रधानमन्त्रीले चाहे हुन्छ, अरु कुरा थाहा भएन’, यादवको भनाइ छ ।
तर प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भोलिसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने बताए ।
‘मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा मङ्गलबार पनि चारजना नेताबीच छलफल भयो, फेरि भरे बेलुका वा भोलि बिहानसम्म बसेर टुङ्ग्याउने कुरा भएको छ’, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवत भोलि मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’