नेकपा विभाजनका कारण नवनियुक्त मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा छ । गत बिहीबार गठन भएको सरकार अल्पमतमा परेपछि सरकार टिकाउन र ढाल्नका लागि सांसदहरु तानातानको अवस्थामा छन् ।
सत्ता पक्षले माधव नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने र पार्टीमा जिम्मेवारी दिने ‘अफर’ गरेको छ । पछिल्लो समय माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षका १० जना सांसद खुलेका छन् । ती सांसदहरू एमालेमा नफर्किने प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरे बताउँछन् । ‘हामी १० जना मोही पार्दा निस्किएको नौनीको पनि क्रिम जस्तै हौं, दायाँ–बायाँ हुन्नौं’ उनले भने, ‘यो संख्या घट्दैन, बढ्दैछ ।’
एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका छन् । उनीहरुले बुधबार नयाँ दल रोज्नका लागि निर्वाचन आयोगमा जाने तयारी गरिरहेका छन् । नयाँ संसदीय दल दर्तासँगै नयाँ सरकार गठनको तयारी शुरु गर्ने उनीहरु बताउँछन् ।
सांसद तानातानको प्रयास शुरु भएपछि नेपाल पक्षका सांसद विराटनगरको विग होटलमा बसेका थिए । तीन दिनको छलफलपछि उनीहरु सोमबार आफ्नो जिल्लातर्फ लागेका छन् । दुई दिन विदा भएका कारण बुधबार भेला हुने गरी सांसदहरु आफ्नो गन्तव्यमा लागेको सांसद घिमिरेले बताए ।
‘सम्भवत: बुधबार आयोगको कार्यालय जान्छौं’ उनले भने, ‘एमालेका अन्य माननीयज्यूसँग पनि छलफल जारी छ, उहाँहरुले केही समय माग्नु भएको छ, उहाँहरु आउने हुँदा एक–दुई दिन ढिलो हुनसक्छ ।’
९३ सदस्यीय प्रदेश १ सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा एमालेका सभामुखसहित ५१ जना सांसद छन् । तीमध्ये १० जना सांसदले नयाँ पार्टी रोजेका कारण वर्तमान सरकार ढल्ने समाजवादी पार्टीका नेताहरु बताउँछन् ।