शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले उपाध्यक्ष बामदेवमाथि आइलाग्यो ठूलो बज्रपात


  • बिहिबार, भाद्र १० २०७८
13.1K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई ठूलो बज्रपात आइलागेको छ । एमाले विभाजित भइसक्दासमेत उपाध्यक्ष गौतमले आफ्नो कित्ता स्पष्ट पार्न नसक्दा उनीमाथि बज्रपात आइलागेको हो ।

नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेमा आफ्नो साथ रहने बताउँदै आएका उपाध्यक्ष गौतम न नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीतिर लागेका छन्, न त एमालेकै बैठकमा आउने गरेका छन् ।

उसो त स्रोतका अनुसार उनी नेपालको पार्टीमा खुलेका छन् । पार्टी एकताको रटान लगाउँदै आएका उपाध्यक्ष गौतम नेपालको पक्षमा खुलेपनि उनी न यता, न उता भएका छन् ।

गौतमकै ढुलमुले पाराका कारण उनकी पत्नी तुलसा थापाको सांसद पद धरापमा पर्ने देखिएको छ । नयाँ पार्टीमा जाने निर्णय ढिलो गरेका सांसद थापासहित ४ जनाको पद धरापमा परेको हो ।

एमाले विभाजनका लागि निवेदन दर्ता गर्ने समयमा हस्ताक्षर नगरेका सांसदहरूलाई निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएकाले एमालेमै रहनुपर्ने वा अध्यक्ष केपी शर्मा ओलीले कारवाही प्रक्रिया अगाडि बढाउनसक्ने देखिएको छ ।

नेता माधव नेपालले गत भदौ २ गते निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिने बेला हस्ताक्षर नगरेका संघीय सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टले भदौ ८ गते एकीकृत समाजवादीमै सनाखत गर्न पाउनुपर्ने माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए तर आयोगले निवेदन अस्वीकार गरिदिएको छ ।

प्रारम्भिक चरणमै नेपाल पक्षमा नलागेर पछि मात्रै निवेदन दिएका ४ सांसदमध्ये पाण्डे प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ज्ञवाली र थापा समानुपातिक सांसद रहेका छन् । भट्ट राष्ट्रियसभा सांसद रहेकी छन् ।

निर्वाचन आयोगले ढिला गरी परेको निवेदनमा सनाखत नगर्ने निर्णय गरेपछि बुधवार आयोगका पदाधिकारी र एकीकृत समाजवादी पार्टीका नेताहरूबीच केहीबेर गर्मागर्मी बहस समेत भएको थियो । अन्ततः आयोगले सनाखतमा सहभागी नगर्ने निर्णय सुनाएको थियो ।

निर्वाचन आयोगले सनाखतमा मान्यता नदिएपछि अब सांसद पद जोगाउन केपी ओली नेतृत्वको एमालेमै बस्नुपर्ने बाध्यता देखिएको छ । अब माधव नेपालको पार्टीमा गएको खण्डमा सांसद पद गुम्ने निश्चित देखिएको छ ।

नेकपा एमालेले बिहीवार बस्ने केन्द्रीय कमिटीको बैठकबाट यी ४ जना सांसदसहित माधव नेपालको पक्षमा लागेका सबै सांसदहरूलाई प्रक्रिया पुर्‍याएर कारवाही गर्ने एमाले स्रोतले जनाएको छ ।

नयाँ दलले मान्यता पाएका कारण माधव नेपालको पक्षमा सुरूमै लागेका ३० सांसदको पद जोगिएको छ । नयाँ पार्टीमा मान्यता पाएका सांसदलाई अब ओलीले कारवाही गर्न पाउने छैनन् ।

एमालेले कारवाही गरेका भनिएका माधव नेपालसहित १४ सांसदलाई समेत आयोगले मान्यता दिएकाले सांसद पद जोगिएको छ ।

निर्वाचन आयोगले नेपाल पक्षका थप ३ जना केन्द्रीय सदस्यको पनि सनाखत गर्न नमानेको नेपाल पक्षका एक नेताले जानकारी दिए । केन्द्रीय सदस्यहरू रामप्रित पासवान, विक्रम शाही र राजन राईलाई आयोगले सनाखत गरेन ।

तर सनाखत नभएपनि एकीकृत समाजवादी पार्टीमा पछि मनोनयन गर्न सकिने जनाइएको छ । सनाखत नभएका सांसद सोमप्रसाद पाण्डेय समेत केन्द्रीय सदस्य रहेकाले उनको सांसद पद गुम्यो भने पनि पार्टीको केन्द्रीय कमिटीमा मनोनयन हुनसक्ने अवस्था भने रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा