शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माधव नेपाल हेरेको हेरै: दोस्रो तहका नेताले नेपाललाई उचाले, अन्तिममा ओली तिरै टाँसिए


  • बिहिबार, भाद्र ३ २०७८
15.5K
SHARES

तस्विरः फाइल

माधवकुमार पक्षका एक नेताका अनुसार माधव कमरेडलाई दोस्रो तहका नेताहरूले धोका दिएको बताएका छन् । माधव कमरेडकै पछि लागेर पद र प्रतिष्ठा लिने तर अन्तिममा आएर आफ्नै नेतालाई सहयोग नगर्नुले धोका दिएको प्रस्टै देखिने उनको भनाई छ । कोही पद पाए पछि तै चुप मै चुप भएका छन् भने कोही अगाडि पार्टीमा सँगै बस्न नसकिने उग्र कुरा गर्ने साथीहरू ओली तिरै लम्पसार परेको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता नेपालले आफ्नै नेतृत्वमा ९५ जनाको नामसहित दल दर्ताको निवेदन दिएर विभाजनको वैधानिक प्रक्रिया अगाडि बढाएका छन् । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण भएकै दिन, नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन परेको हो ।

कपा एमाले समाजवादीलाई निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिएसँगै नेकपा एमाले विभाजनले वैधानिकता पाउनेछ ।

एमालेकै संस्थापक र १४ वर्ष पार्टी नेतृत्व गरेका माधव नेपालले नयाँ दल बनाउँदा तेस्रो पुस्ताका नेताहरुको साथ लिएका छन् । नवौं महाधिवेशनमा एउटै प्यानलबाट जितेका कोही पनि पदाधिकारीले उनलाई साथ दिएनन् । काठमाडौंमा नयाँ पार्टी बनिरहँदा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य हेटौंडामा बागमती प्रदेशकाे मुख्यमन्त्री बनिन् ।

उपमहासचिव घनश्याम भूसाल, सचिवहरु गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्तको साथ माधव नेपालले पाएनन् । उनीहरु दशबुँदे कार्यान्वयनसहित पार्टी एकताको पक्षमा थिए । ‘अध्यादेश ल्याउने र दल विभाजन गर्ने जस्तो निर्णयमा एक्लौटी गरेपछी साथ दिन नसकेको उनिहरुको तर्क छ ।

स्रोतका अनुसार, माधव नेपालले नयाँ पार्टी बनाउन पार्टी पदाधिकारी रहेका दोस्रो पुस्ताभन्दा तेस्रो पुस्ताका नेताहरुलाई बढी विश्वास र सल्लाह गरेका थिए । ‘गएको जेठ तेस्रो साताबाटै दोस्रो पुस्ता नभएर तेस्रो पुस्ताले बलियो साथ दिन्छन् भन्ने माधव कमरेडमा परिसकेको थियो । त्यसैको नतिजा आज देखिएको हो’, उनी निकट एक नेता भन्छन् । त्यसबेलासम्म दोस्रो तहकै नेताहरुलाई माधव नेपालले विश्वास गर्दै आएको ती नेता बताउँछन् ।

उनका अनुसार, दोस्रो पटक संसद् भंग गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णयपछि पनि दोस्रो तहका नेताहरु पार्टी एकता भन्न नछोडेकाले माधव नेपालको सशंकित बन्न पुगेका थिए । त्यसैबेला जगनाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले ‘एकता सम्भव’ नरहेको निष्कर्षसहित दशबुँदे प्रस्ताव पेश गरे । १९ जेठको केन्द्रीय सदस्यहरुको बैठकमा पेश भएको उक्त प्रस्ताव र तिनै नेताहरुलाई माधव नेपालले बढी विश्वास गर्नतिर लागे ।

पछि दशबुँदे प्रस्ताव ल्याउने चार नाममा रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी र जीवनराम श्रेष्ठ थपिए । ३ साउनमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिंदै ओलीको साथ छोडेका कृष्णकुमार श्रेष्ठ किसान, प्रेम आलेहरु थपिए । उनीहरुकै जोडबल र विश्वासमा माधव नेपालले नयाँ दल बनाउँदा पुराना दुई नेता मुकुन्द न्यौपाने र बेदुराम भुसालले साथ दिए । ‘नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व र समूहगत हिसाबले यो विभाजन एमाले पार्टी जीवनकै ठूलो हो । तर पूरै समूह एकठाउँ नउभिएकाले अहिल्यै भन्न सकिन्न’, एक स्थायी कमिटी सदस्य भन्छन् ।

२०७१ मा सम्पन्न नवौं महाधिवेशनपछि अध्यक्ष ओलीकै हाराहारीमा हरेक कमिटीमा माधव समूहका नेताहरु नेतृत्वमा थिए । जिल्ला, जनसंगठन, प्रवास, केन्द्रीय कमिटी, स्थायी कमिटी र पदाधिकारीमा माधव समूह अध्यक्ष ओली जतिकै बलियो छ । अर्थात् गएको ५ पुसयता बनेको माधव समूहको संगठन पूरै अलग भएमा एमालेको क्षति यसअघिको विभाजन भन्दा धेरै ठूलो हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा