यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो । यसपालि मनसुन निरन्तर सक्रिय छ ।
साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछिल्लो तथ्याङ्क छ ।
नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग सय दिन दक्षिण एसियाली मनसुन सक्रिय हुने गर्छ । मनसुन अवधिमा देशभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलीमिटर हो भने काठमाण्डौको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलीमिटर हो ।
मनसुन सकिने समय अझै बाँकी छ । यसैबीच अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएर पानी परिरहेको हो ।
अबको केही दिन लगातारजस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।