काठमाडौँ – चाबहिलका अधिकाँश कलेजहरुले अवैध धन्दा संचालन गरिरहेकको पाइएको छ । गौशाला, मित्रपार्क, चाबहिल, चुच्चेपार्टी आसपासका ‘प्लस टु’ कलेजहरुले अवैध धन्दा संचालन गरिरहेको पाइएको हो ।
चक्रपथ भन्दा बाहिर रहेका विद्यालयहरुका प्रिन्सिपलसँगको मिलेमत्तोमा कलेजहरुले अबैध धन्दा चलाउँदै विद्यार्थीका ढाड सेकिरहेका छन् । उनीहरु विद्यार्थीबाट चर्को शूल्क लिने र विद्यार्थी रिफर गर्ने प्रिन्सिपललाई जनहि १० हजार रुपैयाँसम्म कमिसन दिने गरेको तथ्य खुलेको हो ।
केटिएम खबर डटकमको सम्पर्कमा आएका एक प्रिन्सिपलका अनुसार कक्षा ११ मा भर्ना हुन आउँदा १ जना विद्यार्थी बरावर १० हजार रुपैयाँ कमिसन दिने गरेका छन् । आफूलाई पनि तीन/चार वटा कलेजले कमिसनको अफर गरेको उनको भनाई छ ।
‘मलाई तीन चार वटा कलेजहरुले फोन गरेका थिए ।’ उनले भने, ‘केहीसँग भेटघाट पनि भयो । भेटमा उहाँहरुले लोभ देखाउन खोज्नुभयो । तर मैले अस्वीकार गरेँ । विद्यार्थीलाई आर्थिक भार थप्न मेरो नैतिकताले दिँदैन ।’
‘मेरो विद्यार्थीले मसँग १०/१२ बर्ष संगत गरेको छ । म कसरी उसबाट कमिसन खान सक्छु ।’ केटिएम खबरसँगको कुराकानीमा उनले भने, ‘विद्यार्थीको भविश्य विद्यार्थीकै हातमा छोडिदिन पर्छ । कुन कलेजमा पढ्ने त्यो उसको अधिकारको कुरा हो ।’
विद्यार्थीको टाउको बेच्चे धेरै प्रिन्सिपलहरु रहेको आफूलाई जानकारी भएको उनको भनाई छ । ‘कपन, बूढानीलण्ठ, जोरपाटी, बौद्ध, नयाँबस्ती लगायतका क्षेत्रमा स्कुल भएका प्रिन्सिपलहरुले टाउको बेचिरहेका छन् ।’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘आवश्यक परे कमिसन खाने र खुवाउने शैक्षिक संस्थाको नाम तपाईँलाई भनौँला ।’
त्यस्तै, कलेजहरुले विभिन्न इन्स्टिच्युटहरुलाई पनि कमिसन दिने गरेका छन् । विद्यार्थीको फ्लो धेरै हुने विभिन्न इन्टिच्युटहरुलाई प्रलोभनमा पारी विद्यार्थी भर्ना गराउनेलाई हजारौँ कमिसन दिने गरेका छन् ।