राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् ।
एसईईको नतिजापश्चात् आइतबार पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा निरक्षर मानिसले पनि हाईस्कूल पढेको सर्टिफिकेट पाउने अवस्था आउने बताएका हुन् ।
उनले शिक्षकलाई सुधारिएका विषयहरुको तालिम नदिनुले पनि उचित किसिमको मूल्यांकन हुन नसक्ने बताए। विद्यार्थीहरुमा पनि पढेपनि पास र नपढेपनि पास भन्ने पारिपाटीले भविष्यमा मुलुकलाई ठूलो क्षति हुने उनले बताए । शिक्षक र विद्यार्थीको भेट नै नभएको अवस्थामा नम्बर दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पौडेलले बताए । उनले परीक्षा बोर्डले को कस्तो विद्यार्थी भनेर नचिनेको २ वर्ष भइसकेको टिप्पणी गरे ।
उनले भने, ‘यो किसिमको निर्णय पोल्टिकल लिडरशीपले गर्ने हो भने, निरक्षर मानिसले हाईस्कूल पढेको सर्टिफिकेट प्राप्त गर्छ, कतै पनि कन्ट्रोल मेकानिजम सिस्टम विकास गरिएन अवस्था डरलाग्दो छ, तल्लो लेभलमा क्लास अपग्रेड गर्ने पोलिसी लिएर आउने, त्यहाँ टिचरलाई तालिम नदिने, लिभरल प्रमोशन सिस्टम लागू गरिएको छ, त्यो कसरी गर्ने शिक्षकलाई थाहै छैन, नजानेपछि भनेजसरी पठनपाठन हुँदैन, सबैलाई पास गर्ने भनेकोले पास गरेको भन्छ, पढेपनि पास र नपढेपनि पास गर्दै उ हाईस्कूलसम्म पुग्छ ।”
उनले आन्तरिक मूल्यांकनबाट गरिएको नतिजा प्रकाशनले बोर्डलाई अपजस मात्र आउने बताए । उनले आन्तरिक मूल्यांकनले दिने नतिजाले अपजस भन्दा पनि धेरै विकराल हुने समेत बताए । यसले देशको शिक्षा प्रणाली र मुलुकको विकाश प्रक्रियामा गम्भीर असर पार्ने उनको भनाइ छ । यसको पहिलो जिम्मेवारी देश भएकोले राजनैतिक नेतृत्वहरुले बेलैमा नसोच्ने हो भने यसबाट देश र समाजलाई ठूलो क्षति हुने धारणा व्यक्त गरे ।