देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।
बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।
स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो ।
कार्यविधिविपरीत मनोमानी ढंगबाट आफ्ना विद्यार्थीको परीक्षाफलमा बढी अंक प्रविष्ट गरेपछि बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने जनाएको हो । बोर्डको आन्तरिक बैठकका बारेमा जानकारी गराउँदै एक अधिकारीले भने– ‘झन्डै ७२ हजार विद्यार्थीको सबै विषयमा ‘ए’ र ‘ए प्लस’ आएको भेटियो । काठमाडौँका करिब १ हजार २ सय विद्यार्थीले ‘ए प्लस’ ल्याएको देखियो ।’
बोर्डले जिल्ला शिक्षा समन्वय इकाइलाई बढी नम्बर दिएका कारण खोजी गर्न एक साता समय दिने भएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सबै विवरण तयार गरी बढीमा ४ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।