वरिष्ठ चिकित्सक जागेश्वर गौतमले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी रहेका उनलाई सरुवा गरेर थापाथलीस्थित प्रसूति गृह पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले आफूलाई काम गर्न नदिएको उनको आरोप छ । ‘वीरमा सञ्जालनै रहेछ, जसले मलाई काम गर्न दिएन’, उनले भने, ‘भोलिदेखि नै प्रसूति गृहमा गएर काम गर्छु ।’
उनले आफ्नो कार्यकालमा वीर अस्पताललाई सुधारको प्रयास गरेको बताउँदै त्यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए ।
उसो त गौतमले अस्पतालले क्रमशः गति लिँदै गरेको अवस्थामा केही स्वार्थ समूहले अनावश्यक लफडा गर्न उक्साइरहेको गुनासो गर्दै आएका थिए । सोही अनुसार आइतबार स्वास्थ्यकर्मीको नाममा आफूविरुद्ध आन्दोलन भएको उनको आरोप छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार राज्य मन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो । उनको ठाउँमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाइएको हो । डा.गौतम गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका थिए । सोअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताको भूमिकामा रहेका थिए भने यसअघि पनि उनले विभिन्न अस्पतालको नेतृत्वदायी भूमिकामा रहँदा उदाहरणीय काम गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।