देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याकेज अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।
अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने एक हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ । सातसय दुई स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।