मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले विवादित अभिव्यक्ति दिएका कारण चर्चामा आएका छन ।
सिंहले केही दिनअघि नेकपा एमालेको केपी शर्मा ओलीनिकट विद्यार्थीहरुसँगको कार्यक्रममा दिएको मन्तव्यको अडियो रेकर्ड बाहिरिएको समाचार छ । अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने अभिव्यक्ति दिएका कारण बिबादमा तानिएका हुन ।
‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला,’ सार्वजनिक भएको अडियोमा उपकुलपति प्रा.डा. सिंहले भनेका छन्, ‘तर, मेरो कुलपति केपी ओली हो।’ उनले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको दावी गरेका छन्। उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको बताएका छन्।
त्यसका लागि सडकमा जानुको विकल्प नभएको उनको भनाई छ। ‘हामी सशक्त भएनौ भने हामीसँग लागेका मानिसहरु भड्किन सक्छन्, आगामी चुनावका लागि त्यो खतरा हुनसक्छ,’ उनले भनेका छन्, ‘हामी संघर्षशील छौं, संगठनको झण्डा लिएर सडकमा जानु आवश्यक छ, अखिल, युवा संघ, शिक्षक, विद्यार्थी, मजदूरलगायतका पार्टीका संगठन एक–एक महिना सडकमा आउँदा ९–१० महिनासम्म सबैको ध्यान तान्न सक्छौं, जनता हाम्रो पक्षमा रहिरहन्छन्।’
उनले यसअघिका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालालाई ‘कांग्रेससँग लेनदेन नमिलेर’ एमाले पार्टीसँग गुहार मागेको आरोप पनि लगाएका छन्।
अडियो सार्वजनिक भएपछि उपकुलपति सिंहले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। उनले पत्रकारहरुसँग सार्वजनिक भएको अडियोलाई ‘एनिमेटेड’ भनेका छन्। ‘सम्माननीय प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यूप्रति अपमान हुने गरी विश्वविद्यालयलाई ध्वस्त पार्ने एउटा गिरोहले फेरि कब्जा गरी मोज गर्न सकिन्छ कि भन्ने गलत उद्देश्यले प्रधानमन्त्री एवम् कुलपतिज्यूको सम्मानमा आँच आउने गरी बनाइएको एनिमेटेड अडियोप्रति घोर भत्सर्ना गर्दछु,’ उनले पत्रकार सम्मेलन गरेर भने, ‘त्यसमा संलग्नहरुलाई सशक्त कारबाहीको पनि माग गर्दछु।’