मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार विहान ९ बजेबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक भइरहेको बताईएको छ ।
बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेका छन् । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।
यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ ।
सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । काँग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले जिम्मेवारी पाएका छन् ।