शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

महन्थलाई ४४० भोल्टको झड्का, जीवनको उत्तरार्धमा पार्टीनै छैन 


  • सोमबार, साउन ११ २०७८
13.5K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी जसपा को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै अर्का अध्यक्ष महन्थ ठाकुर ६ दशक लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीविहीन ४४० भोल्टको झड्का महसुस गरेको हुनु पर्छ । उनि उत्तरार्धमा पार्टीविहीन बनेका छन् ।

नेपाली कांग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै जसपा बनाएका ठाकुरलाई पार्टी आधिकारिकता विवादमा आफू अल्पमतमा पर्दैछु भन्ने थाहा नभएको होइन ।

७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटनपछि उपेन्द्र यादव पक्ष छाडेर आफूतिर आएका र आफैंले मन्त्री बनाएका मात्र होइन, पछिल्ला वर्ष आफूसँगै रहेका एकपछि अर्को नेताले छाड्दै गरेको देखेका थिए । आइतबार मात्र पनि केही नेताले ‘पार्टी एकताका लागि उपेन्द्र यादव पक्षमै हस्ताक्षर गरौं, नभए साथ दिन सक्दैनौं’ भनेका थिए ।

तर ठाकुरले ‘म एक्लै भए पनि आफ्नो पक्षमा हस्ताक्षर गर्छु’ भन्ने जवाफ फर्काएको नेताहरु सुनाउँछन् । सोमबार निर्वाचन आयोगले ‘हेड काउन्ट’ गर्दा उनलाई राजेन्द्र महतोसहित १५ जना नेताले साथ दिए ।

जसपा विवादले कानुनी निकास पाउने क्रममा ५१ केन्द्रीय कार्यकारिणी समितिका ३४ जना उपेन्द्र यादवतिर उभिए । ठाकुरको पक्ष उनीसहित १६ जना मात्र रहे ।

निर्वाचन आयोगले बहुमत जुटाएको यादव पक्षलाई जसपाको अधिकारिकता दिएको छ । अब उनीसामू बहुमत पक्षको निर्णय मानेर सांसद पद जोगाउन साधारण सदस्य मात्र बनेर बस्ने अप्ठ्यारो विकल्प छ । जुन बाटो उनले समात्ने देखिँदैन ।

आयोगले ठाकुर र उनको समूहलाई विकल्प दिएको छ, नयाँ दल दर्ता, तर प्रचलित कानूनअनुसार । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल दर्ताका लागि ठाकुर पक्षले जसपाको कार्यकारिणी समिति र संसदीय दलको ४० प्रतिशत पुर्‍याउनुपर्छ ।

यसो भए मात्र नयाँ दल बनाउँदा दल त्याग ऐन आकर्षित हुन्न । अन्यथा नयाँ दल दर्ता गर्दा जनप्रतिनिधि कारबाहीमा पर्नेछन् । अर्थात नयाँ दल बनाउँछु भन्दा सांसदहरू पद गुमाउन तयार नहुन सक्छन् र ठाकुर थप एक्लो हुनसक्छन् । यो अवस्था कम्तीमा आगामी निर्वाचनसम्म रहनसक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा