स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गर्नुपर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उमेश श्रेष्ठलाई एकाएक राज्यमन्त्री नियुक्त गरे । मन्त्रिपरिषद् गठन गर्दानै स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने दबाबमा थिए प्रधानमन्त्री ।
सरकारलाई समर्थन गर्ने दलहरु मात्र होइन, उनकै पार्टी नेपाली कांग्रेस र पार्टीभित्र पनि संस्थापन समूहकै नेताहरुले कोराना महामारीविरुद्धको लडाईंको नेतृत्व गर्न सक्ने स्वास्थ्यमन्त्री नियुक्त गर्न सुझाएका थिए । तर एकाएक आज देउवाले स्थास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन पार्टीका समानुपातिक सांसद उमेश श्रेष्ठलाई ।
श्रेष्ठको छवि भने राजनीतिकर्मी कम, व्यवसायी धेरै छ । झण्डै चार दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय उनको लिटिल एञ्जल्स, आइडिया मोडल, स्मल हेभन लगायतका विद्यालय सञ्चालनमा छन् । जलविद्युत र कृषि क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा लगानी गरेका उनी महेन्द्रनारायण निधि ममोरियल सामुदायिक अस्पतालका ट्रस्टिज अध्यक्ष र जनमैत्री अस्पतालको सञ्चालक पनि छन् ।
कांग्रेससँग राजनीतिक साइनो भने दोस्रो संविधानसभामा पार्टीको कोटाबाट मन्त्रिपरिषदबाट मनोनित २६ संविधानसभा सदस्यमा परेपछि जोडिएको हो । तर उनको सम्बन्ध कांग्रेससँग कम, सभापति देउवासँग बढी भएको नेताहरुको बुझाई छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।