काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल सहभागी संसदिय समितिमा झण्डै हात हालाहालकाे अवस्था बनेकाे छ । संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको विषय उठेपछि लफडा भएको हो ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा एमाले नेता नारदमुनि रानाको अभिव्यक्ति पछि हंगामा भएको हो । आफ्नो बोल्ने पालो आएपछि एमाले ओली खेमामा नेता रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए ।
एमाले वरिष्ठ नेता नेपालले यस्तो अभिव्यक्ति दिने रानालाई बैठकबाट निकाल्न समिति सभापतिलाई आग्रह गरेका थिए । प्रतिगमनको पक्षमा बोलेको भन्दै नेपालले रानालाई तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरेका थिए ।
काँग्रेस सांसद विपिन राजभण्डारीले संसद र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । उनले मन्त्रिपरिषदमा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको सुनाए ।
सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रह गरे । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेपनि सांसदहरू रानामाथि खनिएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।