कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका माधवकुमार नेपालसहित एमालेका २३ जना सांसद आजबाट शुरु हुने संसद अधिवेशनबाट प्रतिपक्षी बेञ्चमै बस्ने भएका छन् ।
यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद तथा एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताए । उनले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताए ।
उनले भने, ‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन ।त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं । भोलि संसद जोगाउन पार्टीले निर्णय गरेरै भोट हाल्ने अवस्था आउन सक्छ ।’
माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निश्चित छ । तर पार्टी एकै भएकाले माधव पक्ष सत्तापक्षमा भने नबस्ने भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।