सरकारले आफ्नो दायित्व भित्र पर्ने रकम निकासा नगरिदिँदा धेरै सर्वसाधारणले अहिलेसम्म कोरोना बीमा बापतको भुक्तानी पाउन सकेका छैनन् । कुल दाबीको झन्डै ६० प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बराबरको रकम अर्थ मन्त्रालयले निकासा नगरिदिँदा लगभग ७ लाख बीमितहरुले भुक्तानी पाउन नसकेका हुन् ।
बीमा समितिले हालसम्म कुल ११ अर्ब रुपैयाँ बराबरको कोरोना बीमा माग दाबी परेकोमा करिब ५ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी दिन सकिएको र बाँकी रुपैयाँ सरकारकै कारण रोकिन पुगेको जनाएको छ ।
यद्यपि, उक्त रकम अर्थ मन्त्रालयले छिट्टै निकासा गर्ने र साउनको पहिलो, दोस्रो हप्तासम्म सम्बन्धित सबै बीमितहरुलाई भुक्तानी गराउनेमा बीमा समिति तयारी अवस्थामा रहेको अध्यक्ष सूर्य प्रसाद सिलवाल बताउदै आएका छन।
कोरोना बीमा मापदण्ड, २०७७ अनुसार साढे ३ अर्ब माथिको माग दाबी भुक्तानीको दायित्व सकारको हो । हालसम्म ११ अर्ब रुपैयाँ बराबरको माग दाबी परिसकेको छ । यस्तोमा हालसम्म ५ अर्ब जति मात्र भुक्तानी भएको अवस्था छ । बाँकी अझै ६ अर्ब भुक्तानी दिन बाँकी छ । यो सरकारकै कारण रोकिन पुगेको हो ।’
अध्यक्ष सिलवालले भने, ‘बाँकी रकम अर्थ मन्त्रालयले एक दुई दिनभित्र गर्नेमा हामी विश्वस्त छौँ । हिजो मात्र मेरो अर्थ मन्त्रालयका सचिव ज्यूसँग कुरा भएको थियो । उहाँले रकम निकासाको तयारी भइरहेको बताएका छन् । मलाई लाग्छ अबको एक दुई दिनभित्रै अर्थ मन्त्रालयबाट पैसा आउनेछ र सम्बन्धित बीमितहरुले भुक्तानी पाउनेछन् ।’
तर, हालसम्म पनि कोरोना भाइरसको सङ्क्रमण दर नरोकिएकाले बीमा योजना अनुसार असार मसान्तसम्म कति बीमितहरुबाट भुक्तानी माग दाबी पर्ने र कति तिर्नुपर्ने अझै यकिन भइनसकेको अध्यक्ष सिलवालले बताए । यस्तो माग दाबी असार मसान्तसम्म करिब १२ अर्ब रुपैयाँ बराबर पुग्न सक्ने उनको अनुमान छ ।