जनता समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलीयतातिर उन्मुख हुने बताएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले विभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए । सर्वोच्च अदालतको आदेशमा मन्त्री पद गुमेपछि आफ्नो गृह जिल्ला धनुषा आएका अरगरियाले बुधबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
उनले दलबाट क्रस भएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइए देश निर्दलीयतातिर धकेलिने बताए । ‘यसले दलीय कानुन मान्य हुँदैन्’ उनले भने, “दलको विधेयक मान्य हुँदैन । र, देश निर्दलीय बन्नेछ ।’
अरगरियाले संसद बिघटनको आदेश सर्वोच्चले दिन सक्ने बताए । ‘मलाइ लाग्छ संसद बिघटन सदर हुन्छ र देश निर्वाचनमा जान्छ’ उनले भने ।
सांसदले एकअर्काप्रति गालीगलौजबाहेक केहि गर्न नसकेको बताउँदै उनले चार वर्षसम्म एउटा विधेयक समेत पारित हुन नसकेको बताए । ‘एउटा सांसदलाई चुनावमा जाने रहर हुँदैन् । तर देशको अवस्था हेरेर चुनावमा जानुपर्छ’ उनले भने, ‘लोकतन्त्रमा जनादेश खोज्नुपर्छ ।’
संसद पुनर्स्थापना भए पनि यही सरकार निरन्तर रहिरहने उनले बताए । ‘जसपाले सरकारलाई दिएको समर्थन त्यसपछि पनि रहिरहन्छ’ उनले भने, “हामीले प्रधानमन्त्रीलाई निर्भीकताका साथ अघि बढ्न भनिसकेका छौं ।’