शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विप्लव–बालुवाटार वार्ता : १० दिनभित्र आफ्ना नेता कार्यकर्ता रिहा गर्न सरकारसँग माग


  • आइतबार, असार २० २०७८
11.5K
SHARES

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।  ‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं’ उनले भने, ‘बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’
विश्वकर्माले सरकारको तर्फबाट राजन भट्टराईलाई आफूहरुको माग पूरा गर्न प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको पनि जानकारी दिए ।

उनले राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि बताए ।  आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताए ।  सो क्रममा प्रधानमन्त्रीले राजनीतिक घटनाक्रमका कारण आफूले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा