स्पेनिस रेफ्री माटेओ लाहोजलाई यस वर्षकाे युरो कप फुटबल प्रतियोगितामा प्रतिबन्ध लागेको छ । साविक विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्सबीचको खेलका क्रममा विवादमा मुछिएका ५१ वर्षीय रेफ्री लाहोजलाई युरो कपका बाँकी खेल खेलाउन नपाउने गरी प्रतिबन्ध लागेको हाे ।
स्पेनिस मिडिया मार्का अनुसार फ्रान्सको पक्षमा विवादास्पद पेनाल्टी दिएपछि रेफ्री लाहोजलाई युरोपियन फुटबल महासङ्घ (युइएफए) ले प्रतिबन्ध लगाएको हो । गत बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २–२ गोलको बराबरी खेलेका थिए ।
फ्रान्सका लागि करिम बेन्जेमाले दुई तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो । पोर्चुगलका डिफेन्डर नेल्सन सेमेडोले फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पेलाई डी एरियामा लडाएको भन्दै रेफ्री लाहोजे भिएआरको सहायतामा पेनाल्टी दिएका थिए ।
पेनाल्टी विवादास्पद रहेको भन्दै रेफ्रीको आलोचना भएपछि युइएफएले छानबिन थालेको थियो । लाहोजले त्यसअघि खेलाएका इङ्ग्ल्यान्ड र स्कटल्यान्ड तथा बेल्जियम र रसियाबीचको खेल पनि अन्यायपूर्ण भएको आरोप छ । उनले अनावश्यक रूपमा दुई वटा पेनाल्टी दिएको आरोप छ ।
तर तेस्रो पेनाल्टी पनि अन्यापूर्ण देखिएको आरोप लागेपछि युइएफएले छानबिन थालेको हो । हाल घरमा आराम गरिरहेका रेफ्रीको विषयमा आधिकारिक निर्णय नआएपनि उनलाई प्रतिबन्ध लगाइएको मार्काको दाबी छ । फ्रान्स र पोर्चुगलबीचको खेलको पहिलो पेनाल्टी दिइनुपर्ने नदेखिएको जनाउँदै युइएफएले गलत निर्णय दिइएका कारण रेफ्रीलाई प्रतिबन्ध लगाएको बताइएको छ ।
लाहोज त्यस्ता एकमात्र रेफ्री हुन्, जसले युरो कपको समूह चरणमै तीन खेल खेलाएका छन् । उनी युइएफएको विश्वासिलो एक रेफ्री रहेको बताइन्छ ।
उनको गलत निर्णयका कारण पोर्चुगल उक्त खेलमा बराबरीमा रोकिन पुगेकाे थियाे । जसले पाेर्चुगल समूह विजेता बन्ने मौका गुमायो । फ्रान्सलाई हराएको भए पोर्चुगल समूह ‘एफ’को विजेता बन्दै स्विट्जरल्यान्डसँग खेल्ने थियो ।
स्विट्जरल्यान्ड समूह ‘ए’ तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको थियो । यसैकारण पनि पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाउने सम्भावना धेरै नै थियो । तर फ्रान्ससँग बराबरीमा रोकिएसँगै उसले फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमको सामना गरेको थियो, जसमा ऊ १–० गोलले पराजित हुँदै युरो कपको अन्तिम १६ बाटै घर फर्कियो ।