सरकारले आत्मनिर्भरको नारा रटान गरेपनि धान–चामल आयातले फड्को मारेको छ ।
बर्षेनी अर्बौ रुपैयाँ बराबरको धान चामल आयात हुँदै आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म झण्डै ४५ अर्ब बराबरको धान तथा चामल आयात भएको छ ।
विगतका बर्षहरु भन्दा आयात बढीरहेको भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले बताए ।
उनले भने, ‘विगतका वर्षहरू भन्दा धान चामलको आयात बढीरहेको छ । गत वर्षको भन्दा अहिले ११ महिनामै बढी आयात भएको छ ।’
यो वर्ष ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ धान दिवस मनाइँदै छ । कृषि विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा सो धान उत्पादन भएको हो ।
विभागका सूचना अधिकारी डा. महादेव प्रसाद पौडेलले आवाश्यकता भन्दा बढी धान चामलको आयात भएको देखिएको बताए । उनले भने, ‘हामीले साधारण हिसाब गर्दा ६ देखि ८ लाख मेट्रिक टन धान भए भने अहिलेको माग पुग्छ भन्ने छ ।
यहाँ मानिसहरुले मोटा चामल उत्पादन गर्ने र मसिना चामल बाहिरबाट ल्याएर खान थाले । यसकारण पनि आयात बढ्यो ।
गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विभागको तथ्यांक छ । यो भन्दा अघिल्लो बर्ष भने कम उत्पादन भएको थियो । यो वर्ष मौसम अनुकुल भएकाले उत्पादन बढेको विभागको भनाइ छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यानमार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७ औं स्थानमा पर्छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले ५ वर्षको अवधिमा धान उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ ।