शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एमालेमा दोस्रो तहका नेता सक्रिय : केपी–माधव वार्ताको प्रयास


  • सोमबार, असार १४ २०७८
11.2K
SHARES

फाईल तस्बिर

एमाले एकताको प्रयासमा लागेको दोस्रो तहका नेताहरुबीच आज पनि अनौपचारिक वार्तामा बस्ने भएका छन् । पछिल्ला दिनमा लगातारजसो वार्तामा बस्दै आएका नेताहरु सोमबार पनि वार्तालाई निरन्तरता दिन लागेको बताएका छन् ।

‘हामी लगातार बस्दै आएका छौ आज पनि कुनै समय बस्ने की भनेर सम्वाद भइरहेको छ’, ओली पक्षका एक नेताले  भने, हामीले आफ्नो तर्फबाट सक्ने जति प्रयास अन्तिमसम्म पनि गरिरहन्छौ’, ति नेताको भनाइ छ ।

अध्यक्ष केपी शर्मा ओलीका पक्षबाट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र माधव समुहका भिम आचार्य,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरुबीच लगातारजसो वार्ता हुँदै आएको छ । ती भेटवार्तामा नेताहरुले सहमतिका लागि मध्यमार्गी उपायको खोजी गरिरहेको बुझिएको छ । यी नेताबाहेक पछिल्लो समय माधव नेपालका तर्फबाट सोमप्रसाद पाण्डे र ओलीका तर्फबाट पृथ्वी सुब्बा गुरुङ समेत एकताका लागि प्रयासरत रहेका छन् ।

गुरुङले त आइतबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमै पार्टी एकता जोगाउन नेता नेपाललाई अध्यक्ष दिन समेत तयार रहनुपर्ने प्रस्ताव नै अघि सारेका थिए । तर गुरुङको उक्त प्रस्तावमा ओलीले कुनै जवाफ नदिएको बालुवाटार स्रोतले जनाएको छ ।

गण्डकीको मुख्यमन्त्रीबाट जिम्मेवारी मुक्त भएपछि गुरुङ काठमाडौ आएर नेताहरूसँगको भेटवार्तालाई महत्व दिँदै आएका छन् । यता माधव नेपाल निकट नेता पाण्डेले पनि पछिल्लो समय पार्टी एकताका लागि सक्रियता देखाएको बुझिएको छ । त्यसैक्रममा पाण्डे र गुरुङको पहलमा १६ गते बस्ने महाधिवेशन आयोजक कमिटीको बैठक अघिनै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच एकपटक भेटवार्ता गराउने प्रयास भइरहेको बुझिएको छ ।

‘सकभर १६ गते अगावै उहाँहरूबीच एकपटक भेटवार्ता गराउने प्रयास भइरहेको छ’, स्रोतले भन्यो, ‘कति सम्भव हुन्छ हेरौँ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा