शनिबार, साउन ९ २०८३
ताजा अपडेट

युरो कप अन्तिम १६ : आज पोर्चुगल र बेल्जियमको महाभिडन्त खेल हुँदै


  • आइतबार, असार १३ २०७८
14.4K
SHARES

युरो २०२०

युरो २०२० फुटबल प्रतियोगितामा आज अन्तिम १६ को चौथो खेल हुँदैछ । उपाधिका लागि दाबेदार ठानिएका दुइ टिम बेल्जियम र पोर्चुगलको महाभिडन्त हने भएकाे छ । यस खेललाई धेरैले फाइनल खेल बराबर रहेकाे चर्चा गरिरहेका छन् । साबिक च्याम्पियन पोर्चुगल र यसपटककाे  दाबेदार मानिएको बेल्जियम अन्तिम १६ मै भिड्दछन् ।

खेल स्पेनको सेभिल्ला सहरस्थित इस्टाडियो डे ला कार्टुजा रंगशालामा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा युरोपियन क्लब फुटबलका ठूला र चर्चित खेलाडीहरू एकअर्काविरुद्ध भिड्ने भएकाले निकै रोमाञ्चक र घमाशान हुने पक्का छ । उपाधिका लागि दाबेदार मानिएका दुई टोलीमध्ये एक अन्तिम ६ बाटै आउट हुने अवस्थामा आज दुवैका लागि यो खेल फाइनलसरह हुनेछ । दुवै टिम उत्तिकै बलिया र स्टार खेलाडीहरूले भरिएकाले यो खेलको सम्भावित नतिजा अनुमान गर्न कठिन छ ।

पोर्चुगलविरुद्ध उत्रिँदा बेल्जियन टोलीको गोल पोस्टमा रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टुवा पर्खाल बनेर उभिनेछन् । तर, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोका लागि कोर्टुवा कठिन किपर होइनन् । विगतमा यी किपरविरुद्ध रोनाल्डोले प्रशस्तै गोल गरिसकेका छन् । त्यसैगरी, बेल्जियमको फ्रन्ट लाइनमा रियलकै स्टार खेलाडी इडेन हाजार्ड, इन्टर मिलानका गोल मेसिन रोमेलु लुकाकुदेखि म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डे ब्रुयानेजस्ता स्टार खेलाडीको साथ हुनेछ । यी सबै खेलाडी आज पोर्चुगलका लागि खतरनाक हुनेवाला छन् ।

यता, पोर्चुगिज टोलीमा आज गोल पोस्टमा अनभुवी गोलकिपर रुई प्याट्रिसियो, रक्षापंक्तिमा अनुभवी पेपे, युवा स्टार रुबेन डियाज, अट्याकिङ डिफेन्डर राफाएल गुरेरियोजस्ता प्रतिभाशाली खेलाडी हुनेछन् । बेल्जियममा जस्तै पोर्चुगलको मिडफिल्ड र फ्रन्ट लाइन निकै मजबुत छ । मिडफिल्डमा त्यहाँ ड्यानिलो पेरेयिो, ब्रुनो फर्नान्डेज, रेनाटो सान्चेज, जोओ मोउटिन्होजस्ता युवा र अनुभवी खेलाडीको पर्खाल रहनेछ ।

त्यसैगरी, फ्रन्ट लाइनमा कप्तान क्रिस्टियानो रोनाल्डोका साथमा युवा खेलाडी डिएगो जोटा, बर्नान्डो सिल्भा, जुओ फेलिक्स, गोन्कालो गुडेस, आन्ड्रे सिल्भाजस्ता प्रतिभाशाली युवा खेलाडीको साथ छ । बेल्जियम र पोर्चुगलको समानता भनेको मजबुत फ्रन्ट लाइन हो । यी दुवै टोलीको फ्रन्ट लाइनमा उत्तिकै खतरनाक र वेगिला खेलाडीहरू छन् । तसर्थ, यो खेलमा प्रशस्तै गोल हुने अनुमान गर्न सकिन्छ । आज पोर्चुगलका लागि बेल्जियमका लुकाकु र डे ब्रुयाने ठूलो समस्या बन्नेवाला छन् भने बेल्जियमका लागि रोनाल्डो, जोटा र सान्चेज ज्यादा चुनौती बन्ने पक्का छ ।

खेलअघि दुवै टोलीका प्रशिक्षकले यो खेलमा कोही पनि जितको स्पष्ट दाबेदार नरहेको बताएका छन् । दुवै प्रशिक्षकले दुवैका लागि यो खेलमा जितको सम्भावना ५०–५० प्रतिशत रहने बताएका छन् । तुलात्मक रूपमा पोर्चुगल समूह चरणमा कठिन ‘ग्रुप अफ् डेथ’बाट अघि बढेकाले बेल्जियम पोर्चुगलसँग त्रसित हुनेछ । तर, पछिल्ला वर्ष ‘गोल्डेन जेनेरेसन’ले नेतृत्व गरिरहेको बेल्जियन टोली पनि कम्ता खतरनाक छैन, जो अहिले फिफा वरीयतामा १ नम्बरमा रहेको छ । हाजार्डको टिम आज पूर्वच्याम्पियनलाई अन्तिम १६ मै ठूलो चोट दिएर घरको बाटो देखाउने दाउमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा