सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको एक्स्काभेटरको बकेटले हिर्काएर हत्या भएको छ ।
सामान्य विवादमा एक्स्काभेटर चालक हर्षबहादुर तामाङले बकेटले प्रहार गरी वडाध्यक्ष श्रेष्ठको हत्या गरेको सर्लाही प्रहरीका एसपी सन्तोषसिंह राठोरले जानकारी दिए । एसपी राठोरका अनुसार चालक तामाङसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
सर्लाही प्रहरीका अनुसार गत शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएको थियो । नगरपालिकाको बजेटबाट भइरहेको पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर वडाध्यक्ष श्रेष्ठसँगै ठेकेदार प्रेमराज दाहाल पनि गएका थिए । त्यही क्रममा सामान्य विवादमा एक्स्काभेटर चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरेको प्रहरीको भनाइ छ ।
नगरपालिका प्रमुख मनोज कुमार देवकोटाका अनुसार पोखरी हेर्न जानुअघि शुक्रबार साँझ गाउँकै एक होटलमा वडाध्यक्ष श्रेष्ठ, ठेकदार दाहाल र एक्स्काभेटर चालक तामाङले खाजा खाएका थिए । खाजा खानेक्रममै श्रेष्ठ र तामाङबीच सामान्य भनाभन भएको थियो । खाजा खाएर उनीहरु पोखरी हेर्न गए । पोखरी हेरेर फर्किने क्रममा चालक तामाङले श्रेष्ठको टाउको र छातीमा बकेटले हिर्काएको नगरप्रमुख देवकोटाले बताए ।
एसपी राठोरले हत्याको कारण पोखरीको विवाद वा अन्य राजनीतिक कारण भएको नखुलेको बताए । यद्यपि चालक तामाङ र ठेकेदार दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरमा मुखलाल दास पोखरीको मर्मत सम्भारको काम भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।