मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।
मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।
‘ प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।