नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हालै काठमाडौमा भएको एक जातीयताबारे उठेको प्रश्नमा मन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहारप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको मौनताले गम्भीर प्रश्न उठाएको बताएका छन् ।
प्रवक्ता शर्माले शुक्रबार प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउँदै समय र संसार बदलिए पनि हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा नबदलिएको बताएका छन् ।
प्रवक्ता शर्माका प्रश्न
१) घटनाको अनुसन्धान , कार्वाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?
२) निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले बिशेष सतर्कता र गम्भीरता राख्नुपर्दछ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्रीज्यू ?
३) द्वन्द्व निरुपण होइन भड्काउलाई बल पु¥याउने मन्त्रीको भूमिका ब्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व ? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?
४) राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरू र आज संविधानमा लेखिएका न्यायका अक्षरहरूको मुल्य के बांकी रहन्छ प्रधानमन्त्रीज्यू ?
उनले प्रश्न रुपा सुनार र सरस्वती प्रधान बीचको संवाद र विवादको मात्रै नभइ यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो भन्दै हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न भएको बताएका छन् ।
पछिल्लो घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको छ । गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ?’ भन्दै प्रश्न गरेका छन । ।