कोरोना नियन्त्रणका लागि १६ बुँदे माग राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बूढानीलकण्ठले मेयर उद्धब प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ ।
माओवादी केन्द्रको कोरोना नियन्त्रण समितिका तर्फबाट संयोजक ठाकुरप्रसाद खकुरेल तथा बुढानीलकण्ठ नगर समितिका संयोजक रविन अधिकारीको नेतृत्वमा शुक्रवार बूढानीलकण्ठ नगरपालिकाको कार्यालय पुगी मेयर खरेललाई १६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

संयोजक खकुरेलले ३ पेज लामो ज्ञापनपत्र वाचन गर्दै आफूहरूले राखेको मागहरू बारे स्पष्ट पारेका थिए ।
यस्ता छन् १६ बुँदे मागहरुः
१. स्थानीय सरकारबाट जनताले पाउनु पर्ने कुनै पनि सेवा–सुविधामा राजनीति आस्थाको आधारमा गरिने भेदभाव अन्त्य गरियोस् ।
२. महामारीको विषम समयमा स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयमा लिइने निर्णय र काममा पालिका भित्रका सबै राजनीतिक दलका प्रतिनिधिसँग समेत छलफल र सहकार्य गर्न एक शक्तिशाली सर्वदलीय सहयोग संयन्त्र तुरुन्तै निर्माण गरियोस् ।
३. नगरपालिका भित्र कोरोनाबाट संक्रमित सबै नागरिकको निःशुल्क उपचारको व्यवस्था नगरपालिकाले नै मिलाओस् ।
४. नगरपालिका क्षेत्र भित्र कोरोनाको कारणले मृत्यु भएका परिवारलाई उचित राहतको व्यवस्था गरियोस् । मृतक विपन्न परिवारका भएमा परिवारको एक जना सदस्यलाई अनिवार्य रोजगारीको व्यवस्था गरियोस् ।
५. कोरोना संक्रमितका लागि नगरपालिकाले निर्माण गर्ने आइसोलेसन अक्सिजन सहितको निर्माण गरियोस् । अनावश्यक खर्चको दायरा फराकिलो बनाएर आर्थिक अपचलन हुने ढोका खोल्ने कार्य तुरुन्तै बन्द गरियोस् ।
६. स्वयंसेवकको नाममा एउटा राजनीतिक दलका कार्यकर्तालाई मात्रै परिचालन गर्ने र बजेट सिध्याउने अपारदर्शी काम तुरुन्तै बन्द गरी सबै दलको सहमतिमा सर्वदलीय स्वयंसेवक परिचालन कार्यदल निर्माण गरी काम गरियोस् ।
७. सबै जनताको लागि समान प्रयोगको अधिकार सहित आएको कोरोनाका सबै खाले खोपहरूको उचित व्यवस्थापन र वितरण गरियोस् । निर्धारित समय र उमेर लगायत मापदण्डको कडाइ पूर्वक पालना गरियोस् ।
८. जेठ २६ र २९ गते खोप लगाउने क्रममा मापदण्ड उल्लङ्घन गर्ने सबै जिम्मेवार निकाय र पदाधिकारीलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याइयोस् ।
९. खोप लगाउन बाँकी ६०–६४ वर्ष उमेर समूह, १८–५९ वर्ष उमेर समूह र ६४ वर्षभन्दा माथिका लगायत उमेर समुहका र सबै लक्षित फ्रन्टलाइन सेवाप्रादायकलाई पर्याप्त खोपको तुरुन्तै व्यवस्था गरी निष्पक्ष र पारदर्शी ढङ्गले लगाउने व्यवस्था गरियोस् ।
१०. यी सबै कामको लागि नगरपालिकास्तरिय अधिकार सम्पन्न शक्तिशाली सर्वदलीय सहयोग समन्वय समिति तुरुन्तै निर्माण गरियोस् ।
११. लकडाउनका कारण विपन्न वर्गको आयआर्जनको श्रोत बन्द भएका कारण आर्थिक अवस्था भयावह भएको छ । छाक टार्न नसक्ने अवस्थामा रहेका नगरवासीको पहिचान गरी यथाशीघ्र पर्याप्त राहतको व्यवस्था गरियोस् ।
१२. भविष्यमा आइपर्ने अन्य प्राकृतिक विपत्तिको सामना गर्न सक्षम संयन्त्र निर्माण गरियोस् । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्थापन गरियोस् ।
१३. नगरका कोरोना सङ्क्रमितलाई तुरुन्तै अस्पताल पुर्याउन सबैका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरियोस् । रेमडेसिभियर लगायत औषधिको जगेडा गरियोस् ।
१४. अक्सिजनको पर्याप्त व्यवस्था मिलाइयोस् । आवश्यक पर्ने अक्सिजन ग्यासका सिलिन्डर खरिद गरेर जगेडा राखियोस् । लिक्वीड अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्ने काम सुरु गरियोस् ।
१५. कोरोना सङ्क्रमितको संख्या, निको भएको संख्या, उपचाररत संख्या, मृतकको संख्या लगायत सबै तथ्याङ्क दैनिक नगरपालिकाको वेभसाइडमा अपडेट राखियोस्, सार्वजनिक गरियोस् ।
१६. खोपको अहिलेसम्म प्राप्त संख्या, उमेर समूह, ठेगाना सहित उल्लेख गरेर नगर क्षेत्रभित्र खोप लगाउने सबैको नाम र संख्या तुरुन्तै सार्वजनिक गरियोस् ।

ज्ञापनपत्र बुझ्दै मेयर खरेलले राम्रा सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्ञापनपत्र बुझाउने उक्त कार्यक्रममा खकुरेल र अधिकारीसँगै माओवादी केन्द्रका नेताहरू विदुर खड्का, डम्बर अधिकारी, राजकुमार कार्की, शिव बजगाइ, कुसुम बिक, संचिता डोटेल, सविता श्रेष्ठ, अर्जुन मालबुल, गजेन्द्र खड्का, अमर बिक लगायतको उपस्थिति रहेको थियो ।




