नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनका बारेमा शंका नगर्न आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशन तोकिएकै समयमा हुने दावी गरे ।
भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिबाट अनुमोदन भएपछि कांग्रेस सभापति देउवाले भने, ‘महाधिवेशन कुनै पनि हालतमा हुन्छ । १९ को २० हुँदैन, बरु १८ नै हुन्छ । महाधिवेशन कुनै पनि हालतमा सर्दैन ।’
बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकले राजनीतिक प्रस्ताव र महाधिवेशनसम्बन्धी कार्यतालिका अनुमोदन गरेको छ । राजनीतिक प्रस्तावमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनलाई बलियो बनाउने र नेताहरुबीच आपसी विश्वास बढाउने गरी काम गर्ने उल्लेख छ । बैठकमा नेताहरुको बोल्ने क्रम चलिरहेका बेला बीचबीचमा आफ्नो धारणा राख्दै कांग्रेस सभापति देउवाले महाधिवेशनबारे आशंका नगर्न नेताहरुलाई आग्रह गरेका हुन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि विपक्षी गठबन्धनलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादको बाटोमा अगाडि लैजान खोजेकाले त्यसलाई पराजित गर्न विपक्षी गठबन्धन मजबुत हुनुपर्नेमा जोड दिएका थिए । उनले गठबन्धनका नेताहरुबीच अविश्वास पैदा हुने गरी काम गर्न नहुनेमा सचेत गराएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।