अविरल वर्षाका कारण पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ भने सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध तथा विभिन्न धनमाल क्षति भएको छ ।
कालिकोटको खाडाचक्र नगरपालिका-६ मोल्फास्थित कर्णाली राजमार्गमा बिहीबार साँझ पहिरो जाँदा सोही नगरपालिका-६ बस्ने ५४ वर्षीय बले बिकको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
डोटीको सिलगढी नगरपालिका-५ जडिङ्गे बागमारे मोडस्थित सडकमा बिहीबार दिउँसो पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने बस्ने सुरेन्द्र भण्डारीको छोरा ७ वर्षीय बिनोद भण्डारी र सोही नगरपालिका-७ रातुली घर भई मामा घर आएकी नवराज बिष्टकी छोरी १० वर्षीया डेनिशा बिष्ट रहेका छन् । सुरेन्द्रको दुई वटा घर भएकोमा एक घरबाट अर्को घर जाने क्रममा पहिरो जाँदा उक्त पहिरोमा पुरिएर दुवै जनाको मृत्यु भएको हो ।
सल्यानको कालिमाटी गाउँपालिका-४ घुरचौरस्थित माइतीघर आउँदै गरेकी बाँके कोहलपुर नगरपालिका-१६ बस्ने ३० वर्षीया कौशिला खड्का सल्यान टट्लीस्थित सडकमा बिहीबार साँझ पहिरोमा च्यापिएर घाइते भएकी छन् । उक्त स्थानमा रुख सहितको खसेको पहिरोमा खड्का च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कालिमाटीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खड्काको उद्दार गरी उपचारका लागि नेपालगंजतर्फ पठाएको छ । साथै उक्त पहिरोले कालिमाटी-बोटेचौर सुर्खेत जाने सडक पूर्णरुपमा अबरोध भएकोले खुलाउने पहल भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।