एजेन्सी – युरोपेली च्याम्पियनसिसपको समुह चरणको दोस्रो खेलमा आज बेल्जियम र डेनमार्क विच खेल प्रतिस्पर्धा हुने भएको छ ।
डेनमार्कको घरेलु मैदान तेलिया पार्केन कोपेनहेगनमा नेपाली समय अनुसार आज राति ९ः४५ बजे खेल सुरु हुनेछ । फिनल्यान्डसँग पहिलो खेलमा हार बेहोरेको डेनमार्कले बेल्जियमसँग बराबरी अथवा हार भोगेको खण्डमा समूह चरण पार गर्ने सम्भावना झिनो बन्नेछ । यो समूह ‘बी’ मा बेल्जियम, रसिया र फिनल्यान्डको समान ३ अंक रहँदा डेनमार्क अंकविहीन छ ।

बलियो बेल्जियमविरुद्ध मैदान उत्रँदा डेनमार्क टिम तथा दर्शकहरुका लागि स्टार फरवार्ड क्रिस्टियन एरिक्सनको अभाव भने खड्कनेछ । फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर बल लिने क्रममा अघि बढ्दै गदौ अचेत भई अकस्मात मैदानमा ढलेका थिए । सो घटनाबाट टोलीले शारीरिक र मानसिक रुपमा धैर्यता गुमाउँदा खेल पनि १–० ले हार बेहोर्नु परेको थियो । एरिक्सन अहिले अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

डेनमार्क एरिक्सनको घटनालाई बिर्सदै बेल्जियमविरुद्ध बलियो मनस्थितिमा मैदान उत्रनेछ । टोलीसँग कास्पर डोलवर्ग, मार्टिन ब्रेथवेट, म्याथियस यान्सेन, युस्सुफ पउलसेन, थोमस डिलाने, पिएरे इमिल होएबिएर, आन्द्रेस क्रिस्टेन्सेन, कप्तान सिमोन केयर र गोलरक्षक कास्पर स्माइकलको साथ रहेको छ ।
यता, बलियो बेल्जियम रसियामाथिको सहज जितलाई डेनमार्कविरुद्ध पनि दिन चाहन्छ । डेनमार्कलाई हराउन सके बेल्जियमको नकआृट चरण पुग्ने सम्भावना बलियो बन्नेछ । बराबरी या हारले समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना खुल्ला हुनेछ ।
टोलीसँग लयमा रहेका रोमेलु लुकाकु, ड्रिएस मेर्टिन्स, इडन हाजार्ड, थोगर्न हाजार्ड, युरी टिलेमान्स,थोमस म्युनियर, थोमस भमाईलेन, डेडरेक बोयाटा, टोवी एल्डरवेइरेल्ड र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।