प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेविरूद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरूद्धमा विरोधीहरूले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिएका हुन्।
विरोधीहरू आक्रामक ढंगले प्रस्तुत भएको भन्दै उनले सरकारको कामको प्रचारप्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गरे।
उनले भने, ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ।
प्रधानमन्त्री ओलीले यत्रो समय कटाएको भए पनि सरकार ढाल्न नसकेर अदालतको सहारा लिन पुगेको टिप्पणी पनि गरे।
उनले यस वर्ष अघिल्ला वर्षमा जस्तो तराई डुबानमा नपर्ने पनि बताए।
नेपाल भारत सीमा क्षेत्रमा लगाएको बाँध पहिले खुला नछोडिने गरेका कारण डुबान भएको भन्दै उनले यसवर्ष बाँधलाई खोलिएको बताए। अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिदै जाने उनले बताए।
बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए।
उनले भने, ‘जुन डुबान क्षेत्रहरू हो त्यहाँ हामीले अलिकति खोलेका छौं। अरू ठाउँमा पनि खोल्दै जानु आवश्यक छ। यसका निम्ति संयुक्त टोलीले सर्भे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यहीँ बेला हो। सीमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौं।’