शिखर धवनले श्रीलङ्काविरुद्धको एकदिवसीय शृङ्खलामा भारतीय टिमको कप्तानी गर्ने भएका छन् । पहिलो रोजाइको राष्ट्रिय टोली विश्व टेस्ट च्याम्पियनसिप र इङ्ग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट शृङ्खला खेल्न इङ्ग्ल्यान्डमा रहँदा भारतको अर्को टोली श्रीलङ्काको भ्रमण गर्ने छ । सोही टोलीको कप्तानी शिखरले गर्ने पक्का भएको हो ।
जुलाई १३ मा सुरु हुने गरी भारतले श्रीलङ्कामा तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नेछ । सबै खेल आर प्रेमदशा रङ्गशालामा हुनेछ । श्रीलङ्का भ्रमणमा पाँच जना भारतीय क्रिकेटरले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यू गर्नेछन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले देवदत्त पडिक्कल, ऋतुराज गाइकवाड, नितिश राना, के गौथम र चेतन सकारियालाई टोलीमा समावेश गरेको छ ।
यस्तै, पाँच जना बलरलाई समेत टोलीमा स्थान दिइएको छ । इशान पोरेल, सन्दीप वरियर, अरशदीप सिंह, आरसाई किशोर र सिमरजित सिंहले टोलीमा स्थान बनाएका हुन् ।
पृथ्वी शाह, सूर्यकुमार यादव, मनीष पाण्डे, हार्दिक पाण्ड्या, इशान किशन, सञ्जु सैम्सन, युज्वेन्द्र चाहल टोलीमा अटाएका छन् । बिसिसिआईले घोषणा गरेको टोलीका अन्य सदस्यमा राहुल चाहर, क्रूनाल पाण्ड्या, कुलदीप यादब, वरुण चक्रवर्ती, दीपक चाहर, नवदीप सैनी छन् ।