महीना दिनअघि धवलागिरि अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना सङ्क्रमितले भरिभराउ आइसोलेशन शय्या । अक्सिजनको चरम अभाव । ‘आइसीयू’मा गम्भीर बिरामीको चाप । दैनिकजसो सङ्क्रमितको मृत्यु ।
अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना सङ्क्रमणको अवस्था भयावह उन्मुख छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । सङ्क्रमणपछि अस्पताल आउनेको सङ्ख्या घटेको छ । गम्भीर बिरामी पनि कम छन् । ‘पछिल्लो एक सातायता अस्पतालमा आधा सङ्क्रमित घटेका छन्’, प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने, ‘दैनिक ३५/४० जनासम्मलाई आइसोलेशनमा राखेर उपचार गर्नुपथ्र्यो, अहिलेको सङ्ख्या १५/२० को हारीहारी छ ।
बुधबार भने जम्मा १३ सङ्क्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ‘आइसीयू’मा दुई जना छन् । गम्भीर बिरामी घटेपछि उक्त कक्षमा पनि चाप कम छ । तीन ‘आइसीयू’ शय्या अहिले खाली छन् । ‘वैशाख अन्तिमदेखि जेठ दोस्रो सातासम्म कठिन अवस्था झेल्यौँ’, प्रमुख चिकित्सक पोखरेलले भने, ‘अहिले केही सहज छ, सङ्क्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।’
रोकथाम तथा नियन्त्रणका उपाय नअपनाउने र जनसाधारणले पनि स्वास्थ्य मापदण्ड पालना नगर्ने हो भने पुनः सङ्क्रमण बढ्न गई अवस्था बिग्रने उनको भनाइ छ । अस्पतालले सम्भावित तेस्रो सङ्क्रमणलाई ध्यानमा राखेर पूर्वाधार र व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको छ ।
बालबालिकाका लागि छुट्टै आइसोलेशनकक्ष बनाउन गण्डकी प्रदेश सरकारलगायत सरोकार भएका पक्षसँग समन्वय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए। अस्पताललाई थप मानव संशाधन, चिकित्सा उपकरण/सामग्रीसहित भौतिक संरचनाको खाँचो रहेको उनको भनाइ छ ।