गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् ।
मुख्यमन्त्री गुरुङले शपथ लिएको आज जेठ २७ मा एक महिना पुगेकाले आजै उनले विश्वासको मतका लागि प्रस्ताव राख्न लागेका हुन् । यसका लागि प्रदेशसभाको बैठक मध्याह्न १२ बजेलाई डाकिएको छ ।
प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् ।
योसँगै मुख्यमन्त्री गुरूङलाई विश्वासको मत प्राप्त नहुने सम्भावना बढेको छ । मनाङेलाई आफ्नो पक्षमा राखिरहन १६ वैशाखमा मुख्यमन्त्री गुरुङले मन्त्री बनाएका थिए । संविधानको धारा १६८(३) अनुसार फेरि मुख्यमन्त्री नियुक्त भएपछि पनि मुख्यमन्त्री गुरुङले उनलाई दोहोर्याएका थिए ।
तर मनाङे अन्तिमसमयमा मुख्यमन्त्री गुरूङकै विपक्षमा उभिएका छन् । बुधबार मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएका मनाङेले प्रदेशसभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनमा लागेको जनाएका छन् ।
मनाङेले कित्ता परिवर्तन गरेसँगै अविश्वासको प्रस्तावबाट गुरुङ नेतृत्वको सरकार ढाल्न कस्सिएको कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनलाई राहत मिलेको छ ।
यसअघि राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीका कारण मुख्यमन्त्री हटाउन असफल भएको गठबन्धन अब भने आफ्नो पक्षमा बहुमत पुग्नेमा विश्वस्त देखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।