शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसीले पायो ९ अर्ब बजेट


  • आइतबार, जेष्ठ १६ २०७८
13.8K
SHARES

फाइल तस्विर

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी वर्षमा सरकारले आफ्नै स्रोतबाट १ अर्ब १ करोड र अमेरिकी सरकारको  अनुदानबाट ८ अर्ब ९ करोड रुपैयाँ खर्च गर्ने गरी बजेटमा कार्यक्रम समावेश गरेको छ ।

‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित संयन्त्र हो ।

चालु आर्थिक वर्षमा पनि सरकारले बजेटमा यो कार्यक्रम कार्यान्वयन गर्न १० अर्बभन्दा बढी बजेट विनियोजन गरेको थियो । त्यसमध्ये आगामी असारसम्म ५ अर्ब १५ करोड ६३ लाख खर्च हुने संशोधित अनुमान छ ।

चालु वर्षमा विनियोजन भएकोमध्ये नुवाकोटको रातमाटेमा ३८५ रोपनी जग्गा किन्न करिब १ अर्ब ३५ करोड मात्रै खर्च भएको छ । त्यसबाहेक कार्यालय र कर्मचारी व्यवस्थापनमा पनि खर्च भएको छ । खर्ब गर्न नसकेर ८ अर्ब रुपैयाँभन्दा बढी बजेट फ्रिज हुने अवस्था छ ।

संसद नभएको अवस्थामा एमसीसीलाई अघि बढाउन सरकारसँग दुईवटा विकल्प छन् । पहिलो, सम्झौता पुनरावलोकनसहित संशोधन वा पूरक सम्झौता गर्नु हो । दोस्रो, विकल्प भनेको एमसीसीको सम्झौता कार्यान्वयन गर्न अध्यादेश ल्याउने हो ।

मन्त्रिपरिषद बैठकले गत वैशाख ९ गते यो आयोजनालाई आवश्यक बजेट अभाव हुन नदिने निर्णय गरेको थियो । एमसीसी परियोजनाबारे नेपालमा दुई वर्षदेखि राजनीतिक विवाद कायम छ । जसका कारण संसदमा पेश भएको अमेरिका र नेपालबीचको एमसीसीको सम्झौता अझै पारित हुन सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा