नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गरेका छन् । बुधबार अपिल जारी गर्दै सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन् ।
बादल एमालेको उम्मेद्वार भएकाले पार्टी निर्णय बिपरीत मतदान नगर्न ओलीले चेतावनी पनि दिएका छन् । पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने अपिलमा उल्लेख छ । ‘…पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्’, ओलीले उल्लेख गरेका छन् ।
एमालेभित्र देखिएको विवाद हल गर्ने प्रक्रियासँग समेत ओलीले बादलको उम्मेद्वारीलाई जोडेका छन् । कार्यदल बनेर काम शुरु भइसकेको अवस्थामा बादलको उम्मेद्वारीलाई चासो साथ हेरिएको उनको भनाइ छ । ‘अहिले पार्टीभित्र देखापरेका समस्याको समधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत शुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो’, ओलीले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।