नेपालले भारतमा उत्पादित कोरोना खोप प्राप्त गर्न अझै कम्तिमा ८ महिना कुर्नुपर्ने देखिएको छ ।
भारतले यो वर्षको अन्त्यसम्म कोरोना खोपको निर्यातमा लगाएको प्रतिबन्ध खुला नगर्ने खबर आइरहेका बेला त्यहाँको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले एक विज्ञप्ति जारी गरी अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने प्रष्ट पारेको छ ।
हामीले खोप उत्पादन क्षमता वृद्धि गर्दै भारतलाई प्राथमिकतामा राख्नेछौं,’ सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले मंगलबार बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो वर्षको अन्त्यसम्ममा कोभ्याक्स र अन्य मुलुकलाई खोप उपलब्ध गराउन सक्ने अपेक्षा गरेका छौं ।
नेपालको खोप अभियान मूलतः भारतीय खोपमा निर्भर थियो । नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्ड भ्याक्सिन खरिदका लागि अग्रिम रकम भुक्तानी गरे पनि भारतमा दोस्रो लहर सुरु भएपछि तालिकाअनुसार खोप पाउन सकेको थिएन । खोप खरिदका लागि नेपालले भारतसमक्ष कूटनीतिक पहल जारी राखेको भए पनि अझै केही महिना भारतले निर्यात गर्न असमर्थ हुने प्रष्ट भएको छ ।
योसँगै नेपालले आफ्नो खोप अभियानलाई तीव्रता दिने हो भने भारतीय खोपको विकल्पमा तत्कालै काम गर्नुपर्ने छ । तर, स्वास्थ्य मन्त्रालयले चीन र रुसबाट खोप खरिद गर्ने प्रकृया अहिलेसम्म सुरु गरेको छैन । चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लगाउन सुरु भइसके पनि थप डोज खरिदका विषयमा प्रकृया अगाडि बढ्न सकेको छैन । रुसी खोप स्पुतनिकलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइसके पनि खोप खरिद प्रकृया भने अगाडि बढ्न सकेको छैन ।
भारतले निर्यात बन्द गरेकै कारण कोभ्याक्स अन्तर्गत अनुदानमा पाउन सकिने खोप पनि तत्काल नेपालले पाउने सम्भावना छैन ।