विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै जानुले विश्वभर आसाको दीयो बल्न सुरु भएको छ ।
पछिल्लो २४ घण्टामा ८ लाख २१ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै दुई लाखले धेरै हो ।
पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड २५ लाख ८१ हजार ४०७ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.३८ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा ६ लाख २७ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ३१ लाख ६९ हजार ३०० पुगेको छ ।
होम तथा संस्थागत आाईसोलेसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७२ लाख ४ हजार ६२८ छ । यसमध्ये १ लाख २ हजार ९५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार २६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८२३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा घट्दै संक्रमण
कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा कमी आएको छ ।
अमेरिकामा २ करोड ७० लाखभन्दा धेरैले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टा एक लाख ९५३ जनाले संक्रणलाई जितेका छन् । योसँगै अमेरिकामा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७० लाख ९७ हजार ५९८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४८८ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ९९ हजार ८३९ पुगेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या ३ करोड ३६ लाख ९५ हजार. ३३६ पुगेको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।
संक्रमण दर घटेपछि भारतमा जाग्दै आशा
दोस्रो लहरको हटस्पट बनेको भारतमा एक सातायता संक्रमितको दरमा कमी आएको छ । संक्रमणको दरमा कमी आएसँगै त्यहाँको जनजीवन विस्तारै पूर्ववत अवस्थामा फर्कने आशा जागेको अधिकारीहरूले जनाएका छन् ।
तथापि पहिलो लहरको संक्रमण उच्च विन्दुमा पुग्दा एक लाख हाराहरीसम्म संक्रमित भेटिएको भारतमा अहिले पनि दैनिक तीन लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको छ ।
लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो ।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।
पछिल्लो सातायता भने दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।