कर्णाली प्रदेश मन्त्रिपरिषद्मा नेपाली काँग्रेसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान नछाडेपछि ३ मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको छ । वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसद्मा विश्वासको मत दिएको कांग्रेसले दुई मन्त्रालयमा दाबी नछाडेपछि नवनियुक्त तीन मन्त्रीको नियुक्ति प्रक्रिया स्थगित भएको हो ।
मुख्यमन्त्री शाहीको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीविनै मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन् । कांग्रेससँगको विवाद समाधान गर्न मुख्यमन्त्री शाहीले चार मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।
मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा सीता नेपालीलाई नियुक्त गर्ने निर्णय गरेका थिए ।
उनीहरूको बिहीबार ११ बजे शपथग्रहण गर्ने कार्यक्रम तय भएको थियो । मन्त्री नियुक्ति र मन्त्रालय विभाजनमा कांग्रेसको असहमति देखिएपछि शपथ ग्रहण कार्यक्रम हुन नसकेको मुख्यमन्त्री निकट एक नेताले बताए ।
‘अहिले पनि काँग्रेसलाई मिलाएर लैजानेबारे छलफल भइरहेको छ, कुरा मिल्यो भने सँगै सपथग्रहण गराउने भनेर मुख्यमन्त्रीज्यूले अरु मन्त्रालय पनि आफैंसँग राख्नुभएको हो,’ ती नेताले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।