मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो।
तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ।
उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ। नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो।
अहिले अन्तरराष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा भइरहेको छ। राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ।
सरकारले कोभिड महामारी नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको छ।
निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका छन्। विमानस्थल कार्यालयका अनुसार मङ्गलबार अन्तरराष्ट्रियतर्फ कार्गो तीन कार्गो, दुई चार्टर्ड र एक एयर एम्बुलेन्स गरी कूल छ उडान भएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।