कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको आइसीयु प्रयोगविहीन जस्तै बनेको छ । एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आइसीयु प्रयोगविहीन जस्तै बनेको हो ।
अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर ज्यान गुमाइ रहेका छन् ।
अस्पतालले हाल २० शैयाको एचडियु (उच्च उपचार कक्ष) स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. रमेश प्रसाद उपाध्यायका अनुसार हालसम्म अस्पतालमा कोरोनाको दोस्रो लहरबाट संक्रमितमध्ये १३ जनाले ज्यान गुमाइसकेका छन । ती मध्ये आज मात्रै ५ जनाले ज्यान गुमाएका हुन ।
आइसीयु सञ्चालनमा आउन नसक्दा कोरोना संक्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने वाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनु पर्ने अवस्था आएको हो । स्थानीयले जनशक्तिको व्यवस्थापन गरेर भएपनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौं, आफू पनि खोजिरहेका छौं तर पाउन सकेका छैनौं’ उनले भने,‘संघीय मन्त्रालय, प्रदेश सरकारमा कुरा गर्दा पनि अहिलेसम्म पाएका छैनौं ।’ अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।
कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिंदै आएको यो अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ ।