आइतबार, कार्तिक १६ २०८३
ताजा अपडेट

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस


  • आइतबार, बैशाख २६ २०७८
8.5K
SHARES

फाइल तस्विर

संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो ।

लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर परिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका रेग्मीलाई नियुक्तिको सिफारिस गरेको हो ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।
कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।

यद्यपि रेग्मीसँग लोक सेवा आयोगको पूर्वसचिव बनेको अनुभव पनि छ । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए ।

रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका उनी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।

रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा