गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामको अनुगमनमा निरन्तर खटिरहने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आर्थिक संकट बढ्दै गएपछि मेची–महाकाली अभियानमा निस्किएका छन् । सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरूले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरे । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रूपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुनेछ ।
डिपिआरअनुसार तीन अर्ब ५५ करोड रुपैयाँ खर्च अनुमान गरिएको रंगशाला निर्माणको झन्डै ३३ करोड रुपैयाँ संकलन भएको छ । हालसम्म ४४ करोडभन्दा बढी रकम खर्च भएको फाउन्डेसनले जनाएको छ । ५० करोड कबोल रकम उठ्न बाँकी छ । फाउन्डेसन अहिले करिब १२ करोड ऋणमा छ ।
नेपालले क्रिकेटमा एकदिवसीय खेलको मान्यता पाएसँगै स्तरीय अन्तर्राष्ट्रिय रंगशालाको माग भएपछि देशविदेशमा रहेका नेपालीसँग सहयोग जुटाएर भूकम्पपछि बस्ती पुनर्निर्माणको अनुभव बटुलेको धुर्मुस–सुन्तली फाउन्डेसनले साढे तीन अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटेको थियो । तर,त्यसअनुसार सहयोग रकम जुटेको छैन । ‘देश–विदेशका नेपालीबाट सहयोग जुटाउने अभियानमा कोरोना कहरले बाधा पुर्याएको छ,’ कट्टेलले भने, ‘बोलेको रकम प्राप्त नहुँदा धेरै नै तनाव सिर्जना भएको छ ।
रंगशालाका लागि बोलकबोल भएको रकम पनि उठ्न सकेको छैन । प्रधानमन्त्री, सांसदसहित विभिन्न दलका नेताहरूको उपस्थितिमा सहयोगमा यो अभियान घोषणा गरिएको थियो । विश्वासकै आधारमा उधारोमा सामान ल्याउँदै काम गर्दै गयौँ । अहिले फाउन्डेसनको खातामा पैसा छैन । बजारमा उधारो रकम तिर्नुपर्ने धेरै छ । बिहान उठेदेखि सुत्नुअघिसम्म उधारोको विषयमा मात्रै फोन आउँछ । बोलकबोल गरिएको रकम समयमै उठ्ला भनेर एक महिनाभित्रैमा तिर्छौं भनी ल्याइएको सामानको पैसा एक वर्षसम्म पनि तिर्न सकिएको छैन । पछिल्ला दिनमा तुरून्तै पैसा देऊ भनेर धम्क्याउने, थर्काउने शैलीमा पनि फोन आउने गरेको छ । एउटै व्यवसायीसँग साढे तीन करोड रुपैयाँसम्मको सामग्री उधारोमा ल्याइएको छ । गत दसैँमा कामदारलाई ज्याला दिन नसक्दा आफ्नो र कर्मचारीको नाममा सहकारीबाट ऋणसमेत लिएँ ।
रंगशाला निर्माणमा सहयोग पुगोस् भनेर महायज्ञ पनि लगाइएको थियो । ‘दिन्छु’ भनेर घोषणा भएको आर्थिक सहयोग अझै उठ्न सकेको छैन । आर्थिक संकट परेकाले सहयोग जुटाउन यो अभियान सुरु गरेका हौँ । कञ्चनपुरको महाकाली नदीको किनारबाट यो अभियान सुरु भएको छ ।
रंगशाला निर्माण लागत साढे तीन अर्ब झन्डै ३३ करोड संकलन ४४ करोडभन्दा बढी खर्च कबोल गरिएको ५० करोड उठ्न बाँकी।